काठमाण्डौ । भदौ महिनाको २३ गतेबाट सुरु भएको जेनजी आन्दोलनले ठूलो जनधनको क्षति पुर्यायो । सुरुदेखिनै आन्दोलन हिसात्मक बन्न पुग्यो । पहिलो दिननै १९ जनाको मुत्यु भएको आन्दोलनको दोस्रो दिन आगजनी र तोडफोड, लुटपाट र निजी तथा सरकारी सम्पत्तिमाथि आक्रमणमा परिणत भयो । आन्दोलनको चौथो दिनसम्म पनि राजधानी काठमाडौंसहितका प्रमुख शहरहरूमा लागेको आगो पूर्ण रुपमा निभएको थिएन । यद्यपि अझै पनि यस आन्दोलनबाट कहाँ–कहाँ के–कस्तो क्षति भयो भन्नेबारे यथार्त विवरण हालसम्म पनि पाइएको छैन् ।
दोस्रो दिनबाट आन्दोलन शुद्ध जनअसन्तोषको अभिव्यक्ति मात्र नभई ठूला उद्यमी, बहुराष्ट्रिय कम्पनी र सरकारी संरचनामाथि केन्द्रित योजनाबद्ध आक्रमणका रूपमा विकसित हुन पुग्यो । आन्दोलनबाट सरकारी सरचना मात्रै ध्वस्त पारिएनन् रोजगारी सिर्जना गरिरहेका विभिन्न व्यापारिक केन्द्रमा समेत आगो लगाई ध्वस्त बनाइयो ।
विशेषगरी निजी क्षेत्रका अगुवा व्यवसायीहरूको घर, उद्योग, र कार्यालयहरू जलेका छन् । विनोद चौधरी, चन्द्र ढकाल, उपेन्द्र महतो, शेखर गोल्छा, वसन्त चौधरी, पवन गोल्यान, बिन्दुकुमार थापा, राजेन्द्र बजगाईँ लगायत देशका प्रमुख लगानीकर्ता प्रत्यक्ष निशानामा पारिए ।
चौधरी ग्रुप अन्तर्गतका सम्पत्ति—रवि भवनस्थित निवास, सिजी डिजिटल पार्क, सतुंगल र थापाथलीका शोरुमहरूमा आक्रमण हुँदा अर्बौंको क्षति भएको छ। सवारी साधन जलाइएका छन्, कीमती वस्तुहरू लुटिएका छन् । शंकर ग्रुपद्वारा सञ्चालित हिल्टन होटल, जुन साढे ८ अर्ब रुपैयाँको लगानीमा हालै मात्र सञ्चालनमा आएको थियो, पूर्णरूपमा खरानी बनाइएको छ ।
नेपालीहरूका लागि उच्चस्तरको रोजगारी सृजना गर्ने उद्देश्यले खोलिएको यो पाँचतारे होटल अब भग्नावशेषमा परिणत भएको छ । यसैगरी एनसेल, भाटभटेनी, कान्तिपुर मिडिया ग्रुप, अन्नपूर्ण पोष्ट, सिम्रिक एयर, टाटा मोटर्स, हुण्डाई, सुजुकी, गोल्यान टावर, मारवाडी सेवा समिति, ग्लोबल कलेज, वर्णवास होटल लगायतका प्रतिष्ठानहरूमा तोडफोड र आगजनी गरिएको छ ।
यस आन्दोलनले उठाएको मुद्दा जुनसुकै भए पनि त्यसले देखाएको व्यवहार हिंसात्मक र लक्षित ढंगमा हुनुले आन्दोलनको नैतिक धरातल कमजोर बनाएको छ । विरोधका नाममा निजी सम्पत्ति, रोजगारी सृजनामा जुटिरहेका संरचना, र अत्यावश्यक सेवाहरूमाथि आक्रमण हुनु गम्भीर चिन्ताको विषय बनेको छ । यसले अर्थतन्त्रमा मात्र होइन, सामाजिक स्थायित्व र नागरिक सुरक्षामाथि पनि गम्भीर असर पार्ने संकेत देखिएको छ। लगानीकर्ताहरू त्रसित छन्, सर्वसाधारण आक्रान्त, रोजगारी गुमाउनेहरूको संख्या दिनानुदिन बढिरहेको छ ।
जेनजी आन्दोलनका नाममा भएको क्षतिलाई नेपालको अर्थतन्त्रले थेग्न नसक्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बताएका छन् । पूर्व गभर्नर क्षेत्रलीले अहिलेको अवस्थाबाट उठ्नु निकै चुनौतिको विषय भएको बताएका हुन् । सबै सार्वजनिक संस्थानहरु ध्वस्त बनाएको अवस्थामा विदेशीसँग माग्ने बाटो समेत बन्द भएको र अर्थतन्त्र निकै कमजोर बन्ने उनको भनाइ छ । छिटो नयाँ अन्तरिम सरकार बनाएर अघि बढ्नु पर्ने भए पनि अहिलेसम्म खासै केही प्रगति नभएको अवस्थामा देशमा थप अन्यौलता उत्पन्न भएको उनले बताए ।
कुनै एउटा सामान्य सुरुङमार्ग निर्माणका लागि त विदेशी गुहार्नु पर्ने अवस्थामा तीन पुस्ता भन्दा बढीको इतिहास भएको सिंहदरबार बनाउनका लागि हाम्रो अर्थतन्त्रले थेग्दैन, उनले भने । केही अनुदान स्वरुप आएका उद्योग निजी करणको नाममा सकिएको र अहिले एसियाली विकास बैंक र विश्व बैंकले पनि नेपाल समृद्धीको बाटोमा गएको भन्दै बढी ब्याज लिने गरेको उनले बताए ।
भ्रष्ट नेताहरुको पैसा प्रयोग गरेर बजेट बनाउने कुरा पनि सुनिएको भन्दै यस्तो कुरा २०६२/०६३ मा पनि सुनिएको भन्दै यसमा कुनै पनि विश्वास गर्न सकिने अवस्था नदेखिएको क्षेत्रीले बताए । आफ्नो उत्पादन नभएको अवस्थामा भोकै मर्नु पर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ ।
अर्थविद् चन्द्रमणी अधिकारीले अहिले जेनजीका नाममा भएको विध्वंशबाट भएको क्षतिको भर्पाइ गर्नका लागि दुई आर्थिक वर्षको बजेट लाग्ने बताएका छन् । अधिकारीले अहिले सबै संरचना ध्वत भएको अवस्थामा हाम्रो कुल जिडीपीको आधा भन्दा बढी खर्च लाग्ने बताएका हुन् । अहिलेको नोक्सानीको पूर्ती गर्नका लागि १० औँ वर्ष लाग्ने उनको भनाइ छ । सार्वजनिक तथा व्यक्तिका भौतिक संरचनामा पनि क्षति पुगेको अवस्थामा पुनः निर्माणका लागि ठूलो धनशासी आवश्य पर्ने उनको भनाइ छ ।
अहिले व्यापार व्यवसाय पनि ठप्प रहेको अवस्थामा दैनिक ५ अर्ब रुपैयाँ नोक्सनी भोग्नु परेको छ । यो अवस्था जति लम्बिन्छ आर्थिक भार पनि बढ्दै जान्छ, उनले भने । अहिलेको आन्दोलनको निकास कसरी निस्कन्छ अर्थतन्त्रको भविष्य पनि त्यसमा नै निर्भर हुने उनी बताउँछन् । देशमा शान्ति भएन भने विदेशी लगानी मात्रै नभएर रेमिट्यान्स पनि नआउने र यसले थप समस्या सिर्जना हुने उनको भनाइ छ । अहिलेको अवस्थामा पर्यटनको आवागमन पनि नहुने भएकाले थप समस्या सिर्जना हुने उनको दाबी छ । यो अवस्थामा हाम्रो देशको अर्थतन्त्र नकारात्मक बाटोमा लाग्दछ जसले गरिवी र व्यरोजगारी बढाउने उनले बताए ।
भर्खरै बनेको नयाँ नेतृत्वले सुजबुझ रुपमा समस्यालाई समाधान गर्न सकेको खण्डमा अवस्था सुधार हुन सक्छ यदि भएन भने अवस्था अझ भयाभह हुने अर्थविज्ञहरुले बताइरहेका छन् । अहिले नै अर्थतन्त्र संकुनमा रहेको अवस्थामा यो ध्वंशले थप नकारात्मक हुने पुग्ने उनीहरुको दाबी छ ।














Discussion about this post