काठमाडौं
नेपाली महिला यू–१९ क्रिकेट टोलीको कप्तानी गर्दै महिला क्रिकेट इतिहासमै पहिलो पटक विश्वकप खेल्न छनोट गराउन महत्वपूर्ण भूमिका खेलेकी पूजा अहिले सिनियर टिममा गरिरहेको प्रदर्शनले पनि थप चर्चाको शिखरमा चढिरहेकी छन् ।
अलराउन्डरको भूमिकामा खेल्ने पूजा दायाँ हाते ब्याटर र मिडियम पेसर बलर हुन् । उनकै कप्तानीमा नेपाल ऐतिहासिक विश्वकपमा छनोट भएको थियो भने यू–१९ महिला एशिया कपमा पाकिस्तानलाई समेत हराएको थियो ।
सफल कप्तान मात्र नभएर पूजा ब्याटिङ र बलिङमा पनि अब्बल छिन् । सिनियर टिममा पहिले मौका पाएर यू–१९ मा परेकी खेलाडी पूजाले पछिल्लो समय सिनियर टिमका लागि पनि प्रभावशाली प्रदर्शन गरेकी थिइन् । भर्खरै नेपालमा भएको थाइल्याण्ड र नेदरल्याण्ड्ससँगको शृंखलामा पूजा उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी थिइन् ।
सानैदेखि क्रिकेटमा रुचि राख्ने पूजा भारतमा हुर्किएका कारण क्रिकेटको माहोलमा भिज्ने मौका पाएकी थिइन् । जब उनी क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) को नजरमा परिन्, त्यसबेलादेखि उनले पछाडि फर्कनु परेको छैन ।

उनी खेल्दा प्रत्यक्ष हेर्ने होस् वा स्क्रिनमा हेर्ने, समर्थकहरू उनको प्रदर्शन देखेर निकै खुसी र उत्साहित हुने गरेका छन्, जुन कुरा गत महिना कीर्तिपुरमा भएको महिला टी–२० आई शृंखलाका बेला पनि देखिन्थ्यो । जति दर्शकहरू मैदानमा आएका थिए, उनीहरूले पूजाको समर्थनमा नारा लगाउँदा ती सबै पूजाकै प्रदर्शन हेर्न आएको अनुभूत हुन्थ्यो ।
मैदानमा फ्यानहरूले ‘पूजा…पूजा’ को नारा लगाउँदा गर्वको महसुस हुने अनुभव साट्दै पूजाले कतिपय अवस्थामा भित्रभित्रै भावुक पनि बन्ने गरेको सुनाइन् । ‘अहिले धेरै जनाको मनमा पूजा महतो छ, म खेलिरहँदा मेरो नाम लिएर समर्थन गरिदिनुहुन्छ, त्यसले एकदम खुशी महसुस गराउँछ’ उनले भनिन्, ‘कहिलेकाहीं भित्रभित्रै आँसु आउँछ यति धेरै समर्थन देखेर । उहाँहरूको लागि अझै राम्रो प्रदर्शन गर्दै जान्छु भन्ने सोचेकी छु ।’
‘बुबाले धेरै नै दुःख गर्नुहुन्थ्यो मलाई क्रिकेट खेलाउन’ पूजाले भनिन्, ‘एकदिन आमाले पनि तिमी क्रिकेट खेल, भविष्यबारे धेरै नसोच, जे हुन्छ राम्रैको लागि हुन्छ भन्नुभयो । अनि मेरो आत्मविश्वास बढ्यो ।’
समर्थकहरू देखेर आफ्नो कन्फिडेन्स धेरै बढ्ने बताउँदै उनी फ्यानहरूलाई निरन्तरको साथ र सहयोगको लागि धन्यवाद दिन्छिन् । आगामी दिनहरूमा पनि यसरी नै खुशी बनाउने गरी खेल प्रदर्शन गर्ने प्रतिबद्धता उनको छ ।
परिवारले बढाएको आत्मविश्वास
पूजा महोत्तरी जिल्लाको गौशालामा जन्मिएकी भए पनि उनको बाल्यकाल भारतको दिल्लीमा बितेको थियो । उनले क्रिकेट कला सबै भारतमै सिकेकी हुन् । दिल्लीबाट राष्ट्रिय टिम हुँदै यू–१९ विश्वकपसम्मको उनको यात्राको बारे सुन्दा जति रमाइलो देखिन्छ, त्यसका पछाडि उनको परिवारको संघर्षपूर्ण कथा छ ।
‘मैले क्रिकेट शुरू गर्दा बुबाआमाले धेरै संघर्ष गर्नुभएको छ, उहाँहरूले धेरै आलोचना समेत खेप्नुभएको थियो’ पूजाले भनिन्, ‘त्यतिबेला छोरीलाई क्रिकेट खेलाउनु नै ठूलो विषय थियो, पछि बिहे गर्नुपर्छ होश गर भनेर समाजले धेरै नै अत्याएको थियो ।’



Discussion about this post